देशभर सक्रिय मौसमी प्रणाली, हुरीबताससहित भारी वर्षाको चेतावनी
चितवन, २१ बैशाख । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने मौसमी प्रणाली पूर्वतर्फ सर्दै गएको जनाएको छ। उक्त प्रणालीका कारण उपत्यकासहित बागमती प्रदेश र मधेस प्रदेशका धेरै स्थानमा वर्षा सुरु भएको छ।
विभागका मौसमविद् सञ्जिव अधिकारीका अनुसार हाल कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, चट्याङ र मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिमबाट सुरु भएको मौसम प्रणाली लुम्बिनी हुँदै पूर्वतर्फ फैलिँदै बागमती र मधेससम्म पुगेको उनले बताए।
हुरीबतासको गति करिब ४० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने र केही स्थानमा दुई घण्टासम्म प्रभाव रहने अनुमान गरिएको छ। आज देशभर भारी वर्षाको सम्भावना रहेको र साँझपछि क्रमशः कम हुने भए पनि साताभर नै प्रणाली सक्रिय रहने विभागले जनाएको छ।
हाल पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय प्रणालीको संयुक्त प्रभावले देशको मौसम प्रभावित भइरहेको छ। विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ भने पहाडी र तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य पहाडी र तराई क्षेत्रमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। राति पनि देशभर आंशिक बदलीसहित वर्षा जारी रहने अनुमान गरिएको छ।
विभागले हुरीबतास, चट्याङ र सम्भावित भारी वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सबैलाई सतर्क रहन आग्रह गरेको छ।
























