मुलुकको व्यापार घाटा एक खर्ब १९ अर्ब नाघ्यो
चितवन, ३१ भाद्र । यस वर्षको मनसुन सुरु भएपछि रातिको समयमा जोखिमका कारण रोक लगाइएको बीपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन सकिँदै गएको अवस्था र दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै राजमार्ग चौबीसै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो। यात्रुको सहजता र सुरक्षा सुनिश्चित गर्न स्वीकृत सडक सुरक्षा कार्ययोजनाअनुसार व्यवस्था मिलाइने समितिले जनाएको छ।
गत असार पहिलो सातादेखि बाढी–पहिरोको जोखिमका कारण धुलिखेलदेखि सिन्धुलीको नेपालथोकसम्म रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको थियो। पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिन रातिको यातायात बन्द गरिएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मका विभिन्न स्थानमा जोखिम भएकाले यसअघि राति सवारी रोकिएको थियो। यात्रु सुरक्षाका लागि काठमाडौँतर्फ जाने सवारीलाई काभ्रेभञ्ज्याङमा र फर्किने सवारीलाई नेपालथोकमा रोकिन्थ्यो।
यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा निकायको निर्णयअनुसार असार ७ गतेदेखि रातिको समयमा राजमार्ग बन्द गरिएको थियो। साउन महिनाभर साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो।
गत वर्ष असोजमा आएको बाढीपहिरोले चौकीडाँडाबाट वर्षेखोलासम्म आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा मात्रै आवागमन सञ्चालन गरिएको थियो। पहिरोले राजमार्गको १६० किमीमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो।
कार्यालयले क्षतिग्रस्त खण्डलाई स्थायी निर्माण गर्न चार भागमा विभाजन गरेर ठेक्का प्रक्रियामा अघि बढाइरहेको छ। पूर्वी नेपाललाई छोटो दूरीमा जोड्ने महत्त्वपूर्ण मार्ग भएकाले बीपी राजमार्गमा दैनिक हजारौँ सवारीसाधन चल्ने गरेका छन्।
























