नाइमा अटो एक्सपोमा ग्लोबल आइएमईको विशेष गाडी कर्जा योजना
चितवन, २६ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसरमा व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा प्राप्त गर्न सक्नेछन्। हालको आधारदरअनुसार कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ। आधारदरमा हुने परिवर्तनअनुसार कर्जाको ब्याजदर पनि समायोजन हुनेछ।
त्यस्तै, एक्सपोमा नयाँ विद्युतीय (ईभी) गाडी खरिद गर्ने ग्राहकका लागि बैंकले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ। तीन वर्षपछि भने उक्त कर्जाको ब्याजदरमा बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुने व्यवस्था गरिएको छ।
बैंकले नाइमा अटो एक्सपोमा आफ्नो स्टल राखेर गाडी खरिद गर्न इच्छुक ग्राहकलाई त्यहीँबाट कर्जाको आवेदन दिने तथा कर्जा प्रक्रिया अघि बढाउने सुविधा उपलब्ध गराएको छ। आवश्यक कागजात पूरा भएपछि अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र प्रदान गरिने बैंकले जनाएको छ।
ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको जनाएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको छ।
बैंकका अनुसार मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक ग्लोबल आइएमईका हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय छन्।



























