कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
चितवन, १२ आश्विन। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना रहेको छ।
आज राति कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुने देखिएको छ। यस क्रममा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।





















