आजको सुनको मूल्यमा निरन्तर गिरावट
चितवन ,१२ कार्तिक । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै यो साता नेपाली बजारमा पनि सुनको मूल्य लगातार ओरालो लागेको छ। पछिल्ला चार दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको हो।
गत आइतबार एकैदिन प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेर दुई लाख ४१ हजार ९०० मा पुगेको सुन सोमबार फेरि दुई हजार रुपैयाँले घट्दै दुई लाख ३९ हजार ९०० मा झरेको थियो।
मङ्गलबार थप दुई हजार ९०० रुपैयाँले घटेपछि सुनको मूल्य दुई लाख ३७ हजारमा पुगेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार पनि सुनको मूल्य घट्दै प्रतितोला सात सय रुपैयाँले घटेर दुई लाख ३६ हजार ३०० कायम भएको छ।
यस्तै, चाँदीको मूल्य भने वृद्धि भएको छ। मङ्गलबार प्रतितोला दुई हजार ९२० मा कारोबार भएको चाँदी आज बढेर दुई हजार ९६५ रुपैयाँमा पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस करिब तीन हजार ९६० अमेरिकी डलरमा कारोबार भइरहेको बताइएको छ।



















