नेप्से ९.६१ अंकले बढ्यो
चितवन, १० मंसिर । सेयर बजार परिसूचक नेप्से नेप्से ९.६१ अंकले बढेको छ । चार दिनयता बजार वृद्धि हुँदै आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार नेप्से ९.६१ अंकले बढेर २ हजार ६६५.६० विन्दुमा पुगेको हो । मंगलवार पनि नेप्से ५.३२ अंकले बढेर बन्द भएको थियो ।
त्यस्तै, बुधबार सेन्सेटिभ इण्डेक्स १.६४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंकले बढेको छ ।
बुधवार कारोबारमा आएका ३२२ कम्पनीको १ करोड ३६ लाख २० हजार कित्ता सेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा बुधवार नेप्सेसँगै कारोबार रकम पनि बढेको हो । अघिल्लो कारोबारको दिन ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
कारोबारमा आएका ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । जसमा झापा इनर्जी, सागर डिष्लिटरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको नेप्सेले जनाएको छ । त्यस्तै, रिभर फल्स पावरको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । तर यता बोटलर्स नेपालको सेयर मूल्य भने ३.९४ प्रतिशत घटेको छ।




















