निर्वाचन आउन ६५ दिन बाँकी, आयोगद्वारा उम्मेदवारको खर्च सीमा निर्धारण
चितवन, १५ पुष । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकिएको छ। निर्वाचन आयोगले सुगम र दुर्गम जिल्लाका निर्वाचन क्षेत्रअनुसार फरक–फरक खर्च सीमा निर्धारण गरेको हो।
आयोगका अनुसार काठमाडौँका पाँच निर्वाचन क्षेत्र—क्षेत्र नं १, ३, ६, ७ र ८—का उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। यस्तै, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारका लागि खर्च सीमा २७ लाख रुपैयाँ तोकिएको छ।
त्यसैगरी, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् भने ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारका लागि ३१ लाख रुपैयाँको सीमा निर्धारण गरिएको छ। साथै, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
आयोगका अनुसार उम्मेदवारले निर्वाचन खर्च गर्न बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्नेछ र सम्पूर्ण खर्च सोही खातामार्फत गर्नुपर्नेछ। खर्च व्यवस्थापनका लागि उम्मेदवारले एक जिम्मेवार अधिकारी तोकी निजको नाम र विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
उम्मेदवारले तोकिएको खर्च सीमाभित्र रहेर निर्वाचन खर्च गर्नुपर्नेछ। साथै, प्रतिनिधिसभा सदस्य ऐनअनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।



















