निर्वाचन ६४ दिन बाँकी: ६४ राजनीतिक दलहरूले पेस गरे समानुपातिक उम्मेदवारहरूको बन्दसूची
चितवन, १६ पुष । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी तीव्र बनिरहेका छन्। विभिन्न राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारहरूको बन्दसूची आयोगमा पेस गरिसकेका छन्। निर्वाचन आयोगका अनुसार, ६४ वटा दलमध्ये ५४ दलहरूले आफ्ना उम्मेदवारहरूको बन्दसूची पेस गरेका छन् भने १० दलहरूले चार वटा एकल चुनाव चिन्हमा उम्मेदवार चयन गरेका छन्।
नेपालको संविधानअनुसार १६५ जनालाई प्रत्यक्ष निर्वाचनबाट र ११० जनालाई समानुपातिक तर्फबाट चयन गरिने व्यवस्था छ। यसैबीच, आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका उम्मेदवारहरूले पेस गर्नुपर्ने कागजातहरूको सूची आयोगले सार्वजनिक गरेको छ।
आयोगका अनुसार, उम्मेदवारहरूले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ। यसका साथै रु १० हजार धरौटीको रसिद वा भौचर पनि पेस गर्नुपर्नेछ। महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक दृष्टिले विपन्न उम्मेदवारका लागि ५० प्रतिशत धरौटी छुटको व्यवस्था गरिएको छ।
आर्थिक दृष्टिले विपन्न उम्मेदवारहरूले स्थानीय तहको सिफारिस पत्र पनि पेस गर्नुपर्नेछ। उम्मेदवारले आफ्नो सम्पत्ति विवरण, घर संख्या, जग्गा विवरण, र स्वघोषणा पत्र पनि पेस गर्नुपर्नेछ जसमा उनी अयोग्य नभएको पुष्टि गर्नुपर्नेछ।
यस्तै, उम्मेदवारले कुनै लाभको पदमा नभएको र निर्वाचित पदमा रहेको भए राजीनामा दिएको दर्ताको निस्सा पनि पेस गर्नुपर्ने छ। आयोगले सात वटै प्रदेशमा निर्वाचन अधिकृत तोकिसकेको र निर्वाचन कार्यालयहरू पनि खोलिसकेको छ। राजनीतिक दलहरूले उम्मेदवार छनोटका लागि प्रारम्भिक तयारी गरिरहेका छन्।




















