कोशी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर, १० नवनियुक्त मन्त्रीले शपथ लिए
चितवन, २२ पुष । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेशको मन्त्रिपरिषद् हेरफेर गरेका छन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम, प्रदेश प्रमुख खापुङले २०८१ वैशाख २७ मा मुख्यमन्त्री कार्कीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद् विस्तार र हेरफेर गर्दै नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
यसैगरी, मुख्यमन्त्री कार्कीले नवनियुक्त राज्यमन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ दिलाएका छन्।
नवनियुक्त मन्त्रीहरूमा प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, इन्द्रमणि पराजुली आन्तरिक मामिला र कानुन मन्त्रालय, विदुरकुमार लिङ्थेप आर्थिक मामिला र योजना मन्त्रालय, रामप्रसाद महतो सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्रालय र इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा नियुक्त भएका छन्।
त्यसैगरी, शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीका रूपमा नियुक्त भएका छन्, प्रदेश प्रमुख कार्यालयले जनाएको छ।



















