आजदेखि निर्वाचन आचारसंहिता लागू, फागुन २१ को निर्वाचनलाई तयारी तीव्र
चितवन, ०५ माघ । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले आज बिहान १२ बजेदेखि आचारसंहिता कार्यान्वयनमा ल्याएको हो।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता स्वीकृत गरी लागू गरिएको आयोगले जनाएको छ।
आचारसंहिता नेपाल सरकार तथा प्रदेश सरकार, तिनका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, स्थानीय कार्यपालिका, संघ–प्रदेश–स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थामा लागू हुनेछ।
यसैगरी राजनीतिक दल, तिनका भातृ संगठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति र अनुगमन समितिका पदाधिकारी पनि आचारसंहिताको दायरामा पर्नेछन्।
पर्यवेक्षण संस्था, सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, शैक्षिक संस्था, शिक्षक तथा कर्मचारी, मतदाता, विकास साझेदार संस्था र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्थालाई पनि आचारसंहिता लागू हुनेछ।
त्यस्तै निजी बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक क्षेत्र, वस्तु तथा सेवा प्रदायक संस्था र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई समेत आचारसंहिता लाग्ने आयोगले स्पष्ट गरेको छ।



















