सुत्केरीलाई उदयपुरको भन्दै उपचारबाट बन्चित गर्ने नोबेल अस्पताललाई कारवाही गर्न माग
गाईघाट,२१ वैशाख
कोरोना भाइरसले प्रभावित उदयपुर जिल्लाको भन्दै एक सुत्केरी महिलालाई उपचारबाट बन्चित गर्ने विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पताललाई कडा कारवाही हुनुपर्ने त्रियुगा नगरपालिकाले स्थानीय सरकार र केन्द्र सरकारसँग माग गरेको छ।
उदयपुरको त्रियुगा नगरपालिकाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै कारवाहीको माग गरेको हो।
पत्रकार सम्मेलनमा नगरपालिकाका मेयर बलदेव चौधरीले भने,‘कोरोना माहामारीका बेला सुत्केरी महिलालाई उपचार गर्न इन्कार गरेर विराटनगरको नोबेल अस्पतालले अमानवीय व्यवहार देखाएको छ। हामी स्थानीय सरकार र केन्द्र सरकारलाई अस्पताललाई आवश्यक कारवाही गर्न आग्रह गर्दछौं।’
‘यस्तो माहामारी र संकटको बेला स्वास्थ्य क्षेत्र संवेदनशिल र सकरात्मक सहयोगको लागि तयारी हुनु पर्नेमा गम्भीर अवस्थाको विरामी नै उपचारबाट बन्चित हुनु परेको छ। एक सुत्केरी महिलालाई उपचारबाट बन्चित गर्नु गैरकानुनी र अपराधमुखी काम हो’ उनले भने।
केहिदिन अगाडि त्रियुगा नगरपालिका ११ की २९ बर्षीया सुत्केरी महिला सरस्वती रौनियारलाई उदयपुरकै भएका कारण नोबेल अस्पतालले उपचार गर्न अस्वीकार गरेको थियो।
उदयपुर त्रियुगा नगरपालिकास्थित भुल्केमा केहीहप्ता अगाडि २० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो।



















