सुधन गुरुङको भनाइ: ‘फेरि गृहमन्त्री बनेँ भने दुई महिना मन्त्रालयमा फोटो खिच्न नआइदिनुहोस्’
चितवन, २४ जेठ । पूर्वगृहमन्त्री सुधन गुरुङले आफूमाथि गठन गरिएको छानबिन समितिको प्रतिवेदनबाट आफूले सफाइ पाउने विश्वास व्यक्त गरेका छन्।
आइतबार गृहजिल्ला गोरखामा बोल्दै उनले आफ्नो सम्पत्तिबारे उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि नै मन्त्री पदबाट राजीनामा दिएको बताए। सार्वजनिक पदमा बसेर काम गर्दा उठेका सबै प्रश्नहरूको जवाफ दिन आफू जिम्मेवार रहेको भन्दै उनले छानबिन समितिसमक्ष स्पष्ट र तथ्यगत बयान दिएको उल्लेख गरे।
गुरुङले बयानका क्रममा कठिन प्रश्नहरूको पनि सहज रूपमा उत्तर दिएको दाबी गर्दै सत्य बाहिर आउनेमा आफू विश्वस्त रहेको बताए।
उनले भविष्यमा फेरि गृहमन्त्रीको जिम्मेवारी पाए आफूलाई केही समय काम गर्न दिन आग्रह गरे। “यदि फेरि त्यही जिम्मेवारी दिइयो भने मलाई कम्तीमा दुई महिना काम गर्न दिनुहोस्। त्यो अवधिमा फोटो खिच्ने, माला र खादा लगाउने तथा बधाई दिने कार्यक्रमका लागि मन्त्रालय नआइदिनुहोस्, काम गर्न दिनुहोस्,” उनले भने।


























