मन्त्रालय घटेसँगै २३ सचिवको जिम्मेवारी हेरफेर, ६ सचिव सरुवा
चितवन, २५ जेठ । सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गरेपछि सचिवहरूको जिम्मेवारी हेरफेर तथा सरुवा गरेको छ।
नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ अनुसार मन्त्रालयहरूको संरचना पुनर्गठन गरिएसँगै सचिवहरूको दरबन्दी मिलान गरिएको हो। दुई सचिवको दरबन्दी रहेका केही मन्त्रालयमा एक मात्र सचिव रहने व्यवस्था गर्दै कुल २३ जना सचिवको पदस्थापन तथा जिम्मेवारी परिवर्तन गरिएको छ।
यसक्रममा छ जना सचिवलाई विभिन्न निकायमा सरुवा गरिएको छ। नयाँ व्यवस्थाअनुसार भुपाल बराल गण्डकी प्रदेश, चन्द्रकला पौडेल उपराष्ट्रपति कार्यालय, प्रमिलादेवी बज्राचार्य विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, दिनानाथ मिश्र राष्ट्रिय सतर्कता केन्द्र, चीरञ्जिवी चटौत नेपाल ट्रष्टको कार्यालय तथा सरजुकुमार वैद्य जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएका छन्।
यसअघि अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसंख्या तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई–दुई जना सचिव कार्यरत थिए।
मन्त्रालय पुनर्संरचनासँगै छ जना सचिवलाई अतिरिक्त समूहमा राखिएको छ। अतिरिक्त समूहमा लोकनाथ पौडेल (साविक युवा तथा खेलकुद मन्त्रालय) र कृष्णहरि पुष्कर (उपराष्ट्रपति कार्यालय) लगायतका सचिव रहेका छन्।



























