रास्वपा दैलेख अधिवेशनमा मतगणना विवाद, खसेको मतभन्दा ६ मत बढी भेटिएपछि कार्यालयमा तालाबन्दी
चितवन, २७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशन मतगणनामा देखिएको विवादका कारण तनावग्रस्त बनेको छ। सभापति पदको निर्वाचनमा खसेको मतभन्दा बढी मत गणना भएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ।
सभापति पदका लागि बखतबहादुर भण्डारी, प्रकाश बुढा, विनीबहादुर शाही र मित्रराज प्याकुरेल प्रतिस्पर्धामा थिए। सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि आइतबार साँझ मतदान सम्पन्न भएको थियो।
निर्वाचन समितिका अनुसार कुल २४० मत खसेको थियो। तर सभापति पदको मतगणनामा उम्मेदवारहरूले प्राप्त गरेको मत जोड्दा २४६ पुग्ने देखिएको छ, जुन खसेको मतभन्दा ६ मत बढी हो।
मत परिणामअनुसार बखतबहादुर भण्डारी ९३ मतसहित सभापतिमा निर्वाचित घोषित भएका थिए। यस्तै, प्रकाश बुढाले ६९, विनीबहादुर शाहीले ४३ र मित्रराज प्याकुरेलले ४१ मत प्राप्त गरेका थिए।
खसेको मतभन्दा बढी मत देखिएपछि अधिवेशनको वैधानिकतामाथि प्रश्न उठेको छ भने असन्तुष्ट पक्षले रास्वपा दैलेख कार्यालयमा तालाबन्दी गरेका छन्। विवादबारे पार्टीका सम्बन्धित निकायले थप छानबिन गर्ने जनाइएको छ।























