सेवा प्रवाह सहजकर्ता परिचालन कार्यविधिको मस्यौदा सार्वजनिक, सुझाव आह्वान
चितवन, ३० जेठ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘सेवा प्रवाह सहजकर्ता परिचालन कार्यविधि’ को मस्यौदा सार्वजनिक गरेको छ।
मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै उक्त मस्यौदामाथि सरोकारवाला तथा सर्वसाधारणबाट राय, सुझाव र प्रतिक्रिया आह्वान गरेको हो। मन्त्रालयका अनुसार उच्च शिक्षा हासिल गरेका युवालाई शासकीय प्रणाली, विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहसँग प्रत्यक्ष रूपमा जोड्दै व्यवहारिक सिकाइको अवसर प्रदान गर्ने उद्देश्यसहित कार्यविधि तयार गरिएको छ।
प्रस्तावित कार्यविधिले सरकारी सेवा प्रवाहलाई नागरिकमैत्री, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिएको छ। सरकारी कार्यालयमा आउने सेवाग्राहीलाई सेवा प्राप्तिका क्रममा हुने अन्योल, झन्झट तथा समयको अनावश्यक खर्च घटाउँदै सेवामा पहुँच सहज बनाउन सहजकर्ताको भूमिका रहने व्यवस्था गरिएको छ।
मस्यौदामा सहजकर्ताको छनोट, योग्यता, कार्यसम्पादन, आचारसंहिता तथा जिम्मेवारीबारे विस्तृत प्रावधान समावेश गरिएको छ। सहजकर्ताले सेवाग्राहीलाई आवश्यक जानकारी उपलब्ध गराउने, सेवा प्रक्रियामा सहजीकरण गर्ने, गुनासो व्यवस्थापनमा सहयोग गर्ने तथा सेवा प्रवाहसम्बन्धी अभिलेख व्यवस्थापनमा समेत सहकार्य गर्ने जिम्मेवारी पाउने उल्लेख छ।
मन्त्रालयले यो कार्यक्रममार्फत युवामा सेवाभाव, नागरिक उत्तरदायित्व र राष्ट्रप्रतिको दायित्वबोध अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ। मस्यौदामाथि सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सुझाव पेश गर्न सकिने जनाइएको छ।
मन्त्री प्रतिभा रावलले युवालाई सार्वजनिक प्रशासनसँग प्रत्यक्ष रूपमा जोड्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन यो अवधारणा अघि सारिएको बताइन्। उनले प्राप्त सुझाव समेटेर कार्यविधिलाई अन्तिम रूप दिइने जानकारी दिँदै सबै सरोकारवालालाई सक्रिय रूपमा सुझाव दिन आग्रह गरेकी छन्।


























