परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा, उच्चस्तरीय भेटवार्ता र लगानी सम्मेलनमा सहभागिता जनाउने
चितवन, ३१ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा आज चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ। साथै उनले चीनका उच्च सरकारी अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।
भ्रमणका अवसरमा बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुँदै मन्त्री खनालले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग नेपालमा वैदेशिक लगानीका सम्भावनाबारे छलफल गर्नेछन्।
यसैबीच, मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले स्वागत समारोह आयोजना गर्ने भएको छ, जहाँ उनले चीनस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ। उनी आगामी असार ३ गते स्वदेश फर्किने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ।





















