सीमा सुरक्षा र राष्ट्रियताको विषयमा सरकारको जवाफ माग्दै विपक्षी दलको संसद्मा कडा विरोध
चितवन, ०१ असार । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले राष्ट्रियता, सीमा सुरक्षा तथा समसामयिक विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेका छन्।
बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्याललाई बोल्न समय दिएका थिए।
सांसद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिबारे सरकारसँग स्पष्ट जवाफ माग गरिन्। साथै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा दिएको जवाफप्रति पनि असन्तुष्टि व्यक्त गरिन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले गत जेठ १७ गते सीमा सम्बन्धमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे। उनले एसइई परीक्षार्थीहरूको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको, टेम्पो भीरबाट खसालिएको तथा प्रहरीले घरमा ढुंगा हानेर क्षति पुर्याएको जस्ता घटनाप्रति आपत्ति जनाए।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले भारतीय सेनाको हेलिकप्टर दार्चुलाको नेपाली भूमिमा प्रवेश गरेको विषयमा सरकारको धारणा माग गरे। साथै, इलामको चर्चित चिया उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन्।
राप्रपाका सांसद भरत गिरीले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेपविरुद्ध नेपाली नागरिकहरूले देखाएको साहसको प्रशंसा गर्दै सीमा क्षेत्रका नागरिकहरूको सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

























