विश्वकप निःशुल्क प्रसारण गर्न सरकारसँग सांसद हमालको माग
चितवन, ०२ असार । नेकपाका सांसद प्रमेशकुमार हमालले विश्वकप फुटबल सबै नागरिकले निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विश्वकप प्रसारणमा सेवा प्रदायकको एकाधिकार (मोनोपोली) रहेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे। उनका अनुसार विश्वकप हेर्न दर्शकले ९९९ रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको छ, जसका कारण धेरै नागरिक प्रतियोगिताबाट वञ्चित भएका छन्।
“वर्ल्डकप मेरो पनि चासोको विषय हो, युवाहरूको त झन् विशेष चासो छ। तर हेर्न ९९९ रुपैयाँ तिर्नुपर्छ, यो मोनोपोलीको अवस्था हो,” उनले भने, “धेरै मानिस इच्छुक हुँदाहुँदै पनि पहुँच अभावका कारण खेल हेर्न सकिरहेका छैनन्।”
सांसद हमालले सेवा प्रदायक कम्पनीले पर्याप्त आम्दानी गरिसकेको उल्लेख गर्दै अब विश्वकप प्रसारण निःशुल्क उपलब्ध गराउनुपर्ने धारणा राखे। साथै, नेपाल सरकारले आफ्ना टेलिभिजन माध्यममार्फत विश्वकप निःशुल्क प्रसारणको व्यवस्था मिलाउन पनि उनले आग्रह गरे।

























