प्रतिनिधिसभामा आज विनियोजन विधेयक २०८३ पारित गर्ने तयारी, खर्च कटौती प्रस्तावमाथि पनि निर्णय हुने
चितवन, ०४ असार । प्रतिनिधिसभाको बैठक आज सुरु भएको छ । आजको बैठकबाट आगामी आर्थिक वर्षका लागि प्रस्तुत विनियोजन विधेयक, २०८३ पारित गर्ने तयारी गरिएको छ ।
कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सभामा पेश गर्नेछन् । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले विधेयकका विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
बैठकमा शिक्षा तथा खेलकुद, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा परराष्ट्र मन्त्रालयका विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ ।
त्यसैगरी अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रपति कार्यालयका विनियोजन शीर्षकमाथि उठेका प्रश्नको पनि मन्त्रीहरूले उत्तर दिनेछन् ।
बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमा दर्ता भएका २० वटा खर्च कटौती प्रस्तावलाई समेत निर्णयार्थ प्रस्तुत गरिनेछ । उक्त प्रस्ताव सांसद कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया यादव, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङलगायत २० सांसदले दर्ता गराएका छन् ।























