मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्य : गृहमन्त्री गुरुङ
चितवन, ०४ असार । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षतिको लक्ष्यसहित सरकार अघि बढेको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष बैठकलाई सम्बोधन गर्दै उनले विपद् व्यवस्थापन र पूर्वतयारीका कार्यक्रम सोही लक्ष्यअनुसार सञ्चालन गर्न निर्देशन दिए।
बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित हुन सक्ने क्षेत्रको पहिचान गरी एकीकृत योजना बनाउन आग्रह गर्दै गृहमन्त्री गुरुङले सम्बन्धित निकायबीच समन्वय, सहयोग र सहकार्य बढाएर जनधनको क्षति न्यून गर्नुपर्नेमा जोड दिए। उनले विपद्का कारण अनाहकमा कसैको ज्यान जाने अवस्था अन्त्य गर्नुपर्ने बताए।
उनले विगतमा विपद् आएपछि मात्र उद्धार र राहतमा केन्द्रित हुने प्रवृत्तिका कारण अपेक्षित नतिजा हासिल हुन नसकेको उल्लेख गर्दै अब पूर्वतयारी, सतर्कता र जोखिम न्यूनीकरणमा प्राथमिकता दिनुपर्ने धारणा राखे।
गृहमन्त्री गुरुङले बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा विगतमा हेलिकप्टरको दुरुपयोग भएको टिप्पणी गर्दै राज्यको सम्पत्तिको अनावश्यक प्रयोग अब स्वीकार्य नहुने स्पष्ट गरे। राहत तथा उद्धार कार्यमा खटिएका सुरक्षा निकायका कर्मचारीबाहेक अन्य व्यक्तिलाई विपद्को बहानामा हेलिकप्टर प्रयोग गर्न नदिने व्यवस्था कडाइका साथ लागू गरिने उनले बताए।
बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।






















