सम्पत्ति छानबिन आयोगले अख्तियारको काममा हस्तक्षेप गर्दैन : अर्थमन्त्री वाग्ले
चितवन, ०४ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने जनअपेक्षा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन प्रतिबद्धताअनुसार राजनीतिक तथा सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न सम्पत्ति छानबिन आयोग गठन गरिएको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८३ माथिको शीर्षकगत छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै उनले आयोग गठनको उद्देश्य स्पष्ट पारेका हुन्।
अर्थमन्त्री वाग्लेले उक्त आयोग स्थायी प्रकृतिको अनुसन्धान निकाय नभएको उल्लेख गर्दै तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने बताए।
उनले आयोगको कामले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकारक्षेत्रमा हस्तक्षेप नगर्ने स्पष्ट पारे। आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिनमार्फत गैरकानुनी सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र जवाफदेहिताको संस्कृति स्थापित गर्न सहयोग पुग्ने सरकारको विश्वास रहेको उनले बताए।























