रास्वपा महामन्त्रीमा विपिन आचार्यलाई चार आकांक्षीको समर्थन
चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदका चार आकांक्षीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन्।
महामन्त्री पदमा दाबेदारी प्रस्तुत गरेका प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली र जगदीश खरेल (ललितपुर) ले शुक्रबार संयुक्त पत्रकार सम्मेलनमार्फत आचार्यलाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने निर्णय सार्वजनिक गरेका हुन्।
उनीहरूले पार्टीको बृहत्तर हित, आन्तरिक एकता र संस्थापक समूहबीच साझा सन्देश प्रवाह गर्ने उद्देश्यले आचार्यको पक्षमा एकजुट भएको बताएका छन्।
संयुक्त पत्रकार सम्मेलनमा बोल्दै गणेश पराजुलीले भने, “पार्टीको हितलाई केन्द्रमा राख्दै संस्थापक साथीहरू एउटै ठाउँमा उभिएर एउटै सन्देश दिनुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ। त्यसैले हामी सबैले विपिन आचार्यलाई समर्थन गर्ने निर्णय गरेका हौँ।”




















