धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले लिए शपथ, पुँजी बजार सुधारमा स्पष्ट कार्ययोजना पेश गर्न अर्थमन्त्रीको निर्देशन
चितवन, १५ असार । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भट्टलाई शपथ गराएका हुन्। मन्त्रिपरिषद्को असार ५ गतेको बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
शपथ ग्रहणपछि अर्थमन्त्री डा. वाग्लेले अध्यक्ष भट्टलाई लगानीकर्ताको हित र लगानी सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर इमानदारीपूर्वक काम गर्न निर्देशन दिए। उनले कुनै पनि प्रकारका लोभ–प्रलोभनबाट टाढा रही निष्पक्ष र पारदर्शी ढंगले जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाको तथा एक वर्षको स्पष्ट कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गर्न पनि निर्देशन दिए।
कार्यक्रममा नवनियुक्त अध्यक्ष डा. भट्टले सरकार र अर्थमन्त्रीको मार्गदर्शनअनुसार पुँजी बजारको विकास, सुधार तथा लगानीकर्ताको विश्वास अभिवृद्धिका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।





















