मुस्ताङमा युरेनियम उत्खननबारे कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल
चितवन, १७ असार । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खननका लागि कसैसँग पनि कुनै प्रकारको सम्झौता नभएको स्पष्ट पारेका छन्।
बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले मुस्ताङमा युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताए।
उनले प्राकृतिक स्रोतको संरक्षण र उपयोगसम्बन्धी नेपालको संविधानमा उल्लेखित व्यवस्थाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत हुने कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे।
त्यस्तै, नेपाल–भारत सीमा विवाद समाधानका विषयमा बोल्दै मन्त्री खनालले दुई देशबीचको ऐतिहासिक सन्धि, सम्झौता र नक्साका आधारमा कूटनीतिक वार्तामार्फत समस्या समाधान गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको बताए।

























