नेप्सेमा ४४.५९ अंकको उछाल, सबै उपसमूह हरियो
चितवन, १७ असार । धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ४४.५९ अंकले बढेर २,६५२.९३ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.७७ अंकले बढ्दै ४५८.५७ विन्दुमा कायम भएको छ।
आज ३६२ कम्पनीका ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर तीन अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँमा कारोबार भएका छन्। कारोबारका क्रममा सबै उपसमूहका सूचकहरू हरियालीमा रहे।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रह्यो। त्यसपछि रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र एनआइएमबी डिबेञ्चर २०९० शीर्ष पाँचमा परेका छन्।
आज २५२ कम्पनीको शेयर मूल्य बढ्दा १७ कम्पनीको घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। स्नो रिभर, सिवाइसी नेपाल लघुवित्त, भुजुङ हाइड्रोपावर र कुर्थली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाए भने कर्पोरेट डेभलपमेन्ट बैंक, एनएमबी डिबेञ्चर, धौलागिरी लघुवित्त, अप्पर स्याङ्गे हाइड्रोपावर र महालक्ष्मी डिबेञ्चरका लगानीकर्ताले घाटा बेहोरे।



















