यामाहाको ७१ औँ वार्षिकोत्सव:पुराना ग्राहक , व्यवसायी र मेकानिकलाई सम्मानको साथै ७ विद्यार्थीको अभिभावकत्व ग्रहण
चितवन, १७ असार । यामाहा ब्रान्डको ७१ औँ वार्षिकोत्सवको अवसरमा पूर्वी चितवनका लागि यामाहाको आधिकारिक बिक्रेता कालिका मोटरसाइकल पार्ट्सले पुराना ग्राहक , व्यवसायी र मेकानिकहरुलाई सम्मान गरेको छ । वार्षिकोत्सवको अवसरमा लामो समयदेखि यामाहालाई आफ्नो यात्राको सारथी बनाउँदै आएका ६ जना ग्राहकलाई सम्मान गरिएको हो । विगत १६ देखि ४० वर्षसम्म १ लाखदेखि २ लाख किलोमीटर बढी यात्रा गरेका ग्राहकहरुलाई सम्मान पत्रले सम्मान गरिएको हो ।
यस्तै, पूर्वी चितवनमा पहिलो रिकन्डिसन व्यवसाय सञ्चालन गर्ने व्यवसायी र मेकानिक क्षेत्रमा ३२ वर्षभन्दा लामो समयदेखि कार्यरत रही व्यवसाय सञ्चालन गर्दै आएका ३ जना पुराना मेकानिकहरूलाई पनि सम्मानपत्रसहित सम्मान गरिएको थियो।
सोही अवसरमा कालिका यामाह कोषबाट ७ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गरिएको छ। यामाहाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय श्री धर्मेश्वर आधारभूत विद्यालयमा अध्ययनरत नर्सरीदेखिका विद्यार्थीहरूको माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेको कालिका मोटरसाइकल पार्ट्सका संचालक उत्तम अधिकारीले जानकारी दिए । उनिहरुलाई कक्षा १२ सम्मको अध्ययनलाई निरन्तरता दिन आवश्यक पर्ने सम्पूर्ण शैक्षिक सामग्री , कपडा , जुत्ता लगायतका सामाग्री प्रदान गरिने संचालक अधिकारीले बताए ।
कालिका मोटरसाइकल पार्ट्सका प्रबन्ध निर्देशक उत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा खैरहनी चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सामाजिक अभियन्ताहरू मुरलीप्रसाद गजुरेल र अनिता मैनाली, धर्मेश्वर आधारभूत विद्यालयका शिक्षक केदार लम्साल , कालिका मोटरसाइकल पार्ट्सका रामचन्द्र कोइराला लगायतको उपस्थिति रहेको थियो ।

























