राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन अघि बढाउन सांसद हमालको सुझाव
चितवन, २५ आषाढ । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा संसदीय दलका तर्फबाट धारणा राख्दै उनले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र मौलिक अधिकारलाई थप सुदृढ बनाउन संविधान संशोधन गर्न सकिने बताए।
सांसद हमालले संविधान संशोधनसम्बन्धी बहसको नोट तयार गर्न गठित कार्यदलबाट आफ्नो पार्टी अलग भएको जानकारी गराउँदै आधारभूत विषयमा भने कुनै असहमति नरहेको स्पष्ट पारे।
उनले राज्य सञ्चालन, कानुन निर्माण तथा सङ्घीयताको सुदृढीकरणलगायत विषयमा संशोधन गर्न सकिने उल्लेख गर्दै त्यसका लागि राष्ट्रिय सहमति अपरिहार्य रहेको बताए।
सांसद हमालले लोकतान्त्रिक संरचनामाथि बन्देज लगाउन नहुने धारणा राख्दै विद्यार्थी सङ्गठन र कर्मचारी ट्रेड युनियनलाई खारेज गर्न नहुने बताए। साथै, सरकारले अत्यावश्यक अवस्थामा अध्यादेश ल्याउन सक्ने संवैधानिक व्यवस्था भए पनि संसद् छलेर अध्यादेश जारी गर्ने परम्पराले संसदीय अभ्यास कमजोर बनाउने चेतावनी दिए।

























