‘समस्या समाधान होइन, सरकार बल प्रयोग गरेर आवाज दबाउन खोज्दैछ’ : विश्वप्रकाश शर्मा
चितवन, २९ आषाढ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले समस्याको समाधान खोज्नुको सट्टा बल प्रयोग गरेर जनताको आवाज दबाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीको अवस्था र गणेश नेपालीको आत्मदाहको घटनाप्रति सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्।
शर्माले वर्षायाममा विस्थापित भएका सुकुमबासी, साना बालबालिका, सुत्केरी तथा ज्येष्ठ नागरिकहरू होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताउन बाध्य भएको उल्लेख गर्दै सरकारले न्यूनतम मानवीय सहायता समेत उपलब्ध गराउन नसकेको आरोप लगाए।
उनले आफ्नै देशमा शरणार्थीजस्तै जीवन बिताउन बाध्य भएका नागरिकहरूको समस्या समाधान गर्नुपर्नेमा शान्तिपूर्ण रूपमा आवाज उठाउने युवाहरूलाई पक्राउ गरिएको घटनाले परिस्थिति झन् तनावपूर्ण बनेको टिप्पणी गरे।
सरकारले बल प्रयोगभन्दा संवाद, संवेदनशीलता र व्यवहारिक समाधानमार्फत नागरिकका समस्या सम्बोधन गर्नुपर्नेमा पनि शर्माले जोड दिएका छन्।





















