चितवनमा २४ घण्टामै ३१९.८ मिमी वर्षा, नारायणी आसपास डुबानको जोखिम उच्च
चितवन, ३० आषाढ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशकै सबैभन्दा बढी वर्षा चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा मापन भएको छ। सोमबार बिहान ८ः४५ बजेदेखि मंगलबार बिहान ८ः४५ बजेसम्म उक्त केन्द्रमा ३१९.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको हो।
विभागका अनुसार देशभर रहेका ३३५ वर्षा मापन केन्द्रमध्ये २४३ केन्द्रमा वर्षा भएको छ। नारायणी फिल्ड अफिस आसपासका तीन केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ भने २३ केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।
विपद् व्यवस्थापनविद् उज्ज्वल उपाध्यायका अनुसार न्यूनचापीय रेखा मध्य तथा पूर्वी तराईतर्फ सर्दै रहेकाले काठमाडौँसहित अधिकांश क्षेत्रमा लगातार परेको झरी सोमबार रातिदेखि कम भएको छ। आजको मौसम सोमबारको तुलनामा केही घाम लाग्ने र तापक्रम बढ्ने अनुमान गरिएको छ।
उनका अनुसार सप्तकोसी र नारायणी नदी आसपासका क्षेत्रमा आज मध्याह्नसम्म डुबानको जोखिम कायम रहनेछ। विभागले चितवनको भरतपुर तथा आसपासका केही क्षेत्र हाल डुबानमा परेको जनाएको छ।



























