भीरबाट लडेर बेपत्ता भएका जाजरकोटका पुरुषको शव भेरी नदीमा फेला
प्रकाशित मिति: मंगलबार, आषाढ ३०, २०८३ | १७:५५:०२
चितवन, ३० आषाढ । जाजरकोटका एक पुरुषको शव सुर्खेतस्थित भेरी नदी किनारमा फेला परेको छ।
मृतक जुनिचाँदे गाउँपालिका–१ का ४५ वर्षीय कर्णबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनको शव गुर्भाकोट नगरपालिका–११ बर्माघाटस्थित भेरी नदी किनारमा भेटिएको हो।
स्थानीयले सोमबार साँझ घटनाबारे जानकारी दिएपछि प्रहरी चौकी मेहलकुनाबाट प्रहरी नायव निरीक्षक मनीष गुरुङको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। शव पोस्टमार्टमका लागि मेहलकुना अस्पतालको शवगृहमा राखिएको थियो।
मंगलबार मृतकका छोरा गणेश रावतले शवको सनाखत गरी बुझेका छन्।
प्रहरीका अनुसार कर्णबहादुर असार २५ गते घरबाट बाख्रा चराउन गएका बेला भीरबाट लडेर खोलामा खसेका थिए। खोलाले बगाएर बेपत्ता भएका उनको शव घटनाको केही दिनपछि भेरी नदीमा फेला परेको हो।
प्रकाशित मिति : मंगलबार, आषाढ ३०, २०८३ |
१७:५५:०२
133



























