दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रतिनिधिसभाको निर्णय
चितवन, ३० आषाढ । प्रतिनिधिसभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको प्रस्ताव बैठकले अनुमोदन गरेको हो।
यसअघि मन्त्री गौतमले प्रधानमन्त्रीका तर्फबाट आर्थिक वर्ष २०८१/८२ का न्याय परिषद्, न्याय सेवा आयोग तथा लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन पनि सदनमा पेस गरेकी थिइन्।
त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेका थिए।
प्रतिनिधिसभाको अर्को बैठक असार ३१ गते बिहान ११ बजे बस्नेछ।



























