मिटरब्याज पीडितसँग वार्ताका लागि सरकारी टोली गठन, नयाँ सिक्का निष्कासनलाई पनि स्वीकृति
चितवन, ३२ आषाढ । सरकारले मिटरब्याजबाट प्रभावित नागरिकको समस्या समाधानका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। टोलीमा अर्थ, गृह, भूमि व्यवस्था तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन्।
बैठकले नेपाल राष्ट्र बैंकलाई १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न स्वीकृति दिएको छ।
साथै ‘नेपाल कानुन सूचना पाइलट प्रणाली’ स्थापना गर्न कोरिया सरकारबाट प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने, संरक्षित क्षेत्रभित्र आवश्यक रुख तथा पोल हटाउने प्रक्रियालाई कानुनी व्यवस्थाअनुसार सम्बन्धित मन्त्रालयबाटै स्वीकृति दिने, विभिन्न मन्त्रालयको संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने, ‘नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) पहिलो संशोधन अध्यादेश, २०८३’ स्वीकृत गर्ने तथा सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापनसम्बन्धी आवश्यक व्यवस्था स्वीकृत गर्ने निर्णय पनि गरेको छ।






















