रैथाने उत्पादनको जीआई दर्ताका लागि कानुन बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव
चितवन, ०७ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) का नेपाल प्रतिनिधि केन सिमिजुबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने मौलिक तथा रैथाने वस्तुको ब्रान्डिङ, संरक्षण र दीगो प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको थियो। साथै भौगोलिक संकेत (GI–Geographical Indication) सम्बन्धी अन्तर्राष्ट्रिय प्रावधान र यसको महत्त्वबारे पनि चर्चा गरिएको थियो।
FAO का प्रतिनिधि सिमिजुले विश्वका अधिकांश मुलुक तथा एसियाका प्रायः सबै देशमा जीआई प्रणाली लागू भइसके पनि नेपालमा अझै कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्दै चिन्ता व्यक्त गरे। उनले नेपाली रैथाने उत्पादनको जीआई दर्ता नहुँदा बहुमूल्य स्थानीय ब्रान्ड अन्य देशले दर्ता गर्ने अवस्था सिर्जना भएको भन्दै त्यसलाई रोक्न तत्काल कानुनी व्यवस्था गरी कार्यान्वयनमा लैजान आग्रह गरे।
जवाफमा मन्त्री यादवले नेपालको मौलिक तथा रैथाने उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानुन निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। उनले यससम्बन्धी पहल सुरु भइसकेको जानकारी दिँदै कानुन मन्त्रालयसँग समन्वय गरी आवश्यक विधेयक चाँडै तयार पारेर अघि बढाइने विश्वास व्यक्त गरिन्।



















