तेह्रथुममा छोराले बञ्चराे प्रहार गरी आमाबुबाको हत्या
विराटनगर,२६ वैशाख ।
प्रदेश १ को तेह्रथुम र खोटाङ जिल्लामा तीनजनाको हत्या भएको छ । हत्यामा संग्लग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार साँझ साढे ६ बजे तेह्रथुमको फेदाप गाउँपालिका ५, इसिबुमा आफ्नै छोराले बन्चरोले प्रहार गरी बाबु–आमाको हत्या गरेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले आफ्नै ४२ वर्षीय बुबा रूपबहादुर र ३५ वर्षीया सौतेनी आमा रुपेनी लिम्बूलाई बन्चरोले टाउको तथा ढाडमा प्रहार गरेका थिए ।
बन्चरो प्रहारबाट दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनापछि फरार रहेका लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी खोटाङको केपिलासगढी गाउँपालिका २ का ४७ वर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ वर्षीय मिलन राईले ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेका छन् । बिहीबार साँझ पौने ७ बजेको समयमा आफ्नै घरतर्फ जाँदै गरेको अवस्थामा बाटैमा रहेका मिलनले एक्कासि ढुङ्गाले टाउकोमा प्रहार गर्दा प्रितिलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
भिनाजुको हत्या गरी फरार रहेका राईलाई इलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने घटनामा संग्लग्न रहेका निजकै २० वर्षीय भाइ जीवन राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।



















