रास्वपाको नयाँ व्यवस्था: सांसदले नातेदारलाई स्वकीय सचिव राख्न नपाउने
चितवन, ०८ साउन । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी आन्तरिक निर्देशनमा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्दै स्वकीय सचिव खुला प्रतिस्पर्धामार्फत मात्रै नियुक्त गर्नुपर्ने उल्लेख गरिएको छ।
निर्देशनअनुसार स्वकीय सचिवका लागि उम्मेदवारले कम्तीमा स्नातक तह वा सोसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ। अनुसन्धान क्षमता, प्रविधिमैत्री सीप, सम्बन्धित क्षेत्रको दक्षता तथा पार्टीको मूल्य–मान्यताप्रतिको प्रतिबद्धतालाई प्राथमिकता दिइनेछ। साथै योग्य महिला, सीमान्तकृत समुदाय तथा पछाडि पारिएका वर्गका उम्मेदवारलाई पनि प्राथमिकता दिने व्यवस्था गरिएको छ।
रास्वपाले स्वकीय सचिवको छनोट सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने र अन्तिम नियुक्तिका लागि संसदीय दलको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। नियुक्तिसम्बन्धी विवाद वा उजुरीको अन्तिम निर्णय गर्ने अधिकार भने पार्टीमै रहने उल्लेख गरिएको छ।
सरकारले हालै सांसदहरूलाई शाखा अधिकृत सरहका एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेपछि राज्यकोषबाट उपलब्ध हुने सुविधाको पारदर्शी, मितव्ययी र जनउत्तरदायी उपयोग सुनिश्चित गर्न रास्वपाले यो आन्तरिक निर्देशन जारी गरेको जनाएको छ।

















