कांग्रेस नेता भीष्मराज आङ्देम्बे र सभामुख डीपी अर्यालबीच भेट, संसद् र समसामयिक विषयमा छलफल
चितवन, १२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डीपी अर्यालबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, संसद् सञ्चालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल भएको जनाइएको छ।
भेटका क्रममा आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यानाकर्षण गराउँदै शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी पहल आवश्यक रहेको बताएका थिए। साथै, पाँचथरसहित विभिन्न जिल्लामा आएको बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सरकार तथा संसद्ले प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।
त्यसैगरी, नारायणी अस्पतालका चिकित्सकमाथि भएको दुर्व्यवहारपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएको घटनाप्रति पनि उनले सभामुखको ध्यानाकर्षण गराउँदै स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गरी स्वास्थ्य सेवा नियमित सञ्चालन हुने वातावरण बनाउन पहल गर्न आग्रह गरेका छन्।
























