सभामुख डीपी अर्याल र कांग्रेस नेता भीष्मराज आङ्देम्बेबीच भेट, सुनसरी हिंसा र विपद्का विषयमा छलफल
चितवन, १२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद (डीपी) अर्याल बीच सिंहदरबारमा भेटवार्ता भएको छ।
सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, संसद् सञ्चालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल भएको जनाइएको छ।
भेटका क्रममा आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यानाकर्षण गराउँदै देशमा शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी पहल आवश्यक रहेको बताएका थिए। साथै, पाँचथरसहित विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन संसद् र सरकारले गम्भीरतापूर्वक पहल गर्नुपर्ने धारणा राखेका थिए।
त्यसैगरी, नारायणी अस्पतालका चिकित्सकमाथि भएको दुर्व्यवहारपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएको घटनाप्रति पनि उनले सभामुखको ध्यानाकर्षण गराउँदै स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गरी स्वास्थ्य सेवा नियमित सञ्चालन हुने वातावरण बनाउन आवश्यक पहल गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
























