सामाजिक सद्भाव कायम गर्न क्षेत्रमा जान सांसदलाई रवि लामिछानेको निर्देशन
चितवन, १४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूलाई आ–आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
बिहीबार सिंहदरबारमा आकस्मिक बैठक बोलाउँदै उनले सुनसरी घटनापछि विकसित अवस्थाबारे जानकारी गराउँदै सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम गर्न स्थानीय तहमा समन्वयकारी भूमिका खेल्न आग्रह गरेका हुन्।
बैठकपछि सांसद रहवर अन्सारीले सभापति लामिछानेको निर्देशनअनुसार सांसदहरू अब आफ्ना जिल्ला र क्षेत्रमा पुगेर राज्यका संयन्त्रसँग समन्वय गर्दै सामाजिक सद्भाव कायम गर्ने काममा जुट्ने बताए।
अन्सारीले सुनसरीमा गोली चल्नु र मानवीय क्षति हुनु दुःखद् भएको उल्लेख गर्दै सामाजिक सद्भाव भड्काउने कुनै पनि प्रयासलाई सबै मिलेर रोक्नुपर्ने धारणा व्यक्त गरे।






















