सुनसरीको अवस्था सामान्य बनाउन सरकार सक्रिय, जनतामाझ पुग्न सांसदलाई प्रधानमन्त्री बालेन शाहको निर्देशन
चितवन, १५ साउन । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित विभिन्न जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव कायम राख्न सरकार योजनाबद्ध र प्रभावकारी रूपमा सक्रिय रहेको बताएका छन्।
शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सबै सुरक्षा निकाय उच्च सतर्कताका साथ परिचालित भइसकेको जानकारी दिँदै नागरिकलाई अफवाहमा नलागी संयमता अपनाउन आग्रह गरे।
उनले सरकारको पहिलो प्राथमिकता प्रभावित नागरिकसम्म तत्काल पुगेर सुरक्षा प्रत्याभूति गराउने, आवश्यक सहयोग उपलब्ध गराउने तथा घटनाको निष्पक्ष छानबिन गर्ने रहेको बताए। शान्ति–सुरक्षा मजबुत बनाउँदै परिस्थितिलाई थप जटिल हुन नदिन सरकारले बहुआयामिक रणनीति अपनाएको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले सांसदहरूलाई आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वास तथा सद्भावको वातावरण निर्माण गर्न सक्रिय भूमिका खेल्न निर्देशन दिए। संकटका बेला जनताको घरदैलोमा पुगेर उनीहरूको दुःख–सुखमा साथ दिनु नै जनप्रतिनिधिको मुख्य दायित्व भएको उनले स्मरण गराए।
छलफलमा सहभागी सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा ग्रहण गर्दै तत्काल आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।
उनीहरूले बिहीबार प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गरेको सम्बोधनले देशभर, विशेषगरी प्रभावित जिल्लाका नागरिकमा विश्वास, आशा र सकारात्मक सन्देश प्रवाह गरेको पनि उल्लेख गरेका छन्।


















