शान्ति सुरक्षा कायम गर्न सरकार सक्रिय छ : गृहमन्त्री सुधन गुरुङ
चितवन, २१ साउन । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण रूपमा क्रियाशील रहेको बताएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले संवेदनशील घटनामाथि प्रश्न उठाउँदा सांसदहरूले पनि संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिए। कुनै व्यक्तिको परिवारका सदस्यको निधनजस्ता घटनालाई बारम्बार सार्वजनिक बहसको विषय बनाउँदा पीडित परिवारलाई थप पीडा हुन सक्ने उनको भनाइ थियो।
गृहमन्त्री गुरुङले सम्बन्धित घटनामा अनुसन्धान जारी रहेकाले त्यसबारे अहिले टिप्पणी गर्नु उपयुक्त नहुने बताए। उनले अनुसन्धान सूक्ष्म रूपमा अघि बढिरहेको उल्लेख गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई यस्ता विषय अनावश्यक रूपमा दोहोर्याएर नउठाउन आग्रह गरे। साथै, आवश्यक परे व्यक्तिगत रूपमा आफूलाई जानकारी लिन सकिने पनि उनले बताए।
उनले निर्मला पन्त प्रकरणबारे पनि टिप्पणी गर्न चाहेनन्।
बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीको अभिव्यक्तिले आफ्नो विधायकीय अधिकार हनन भएको महसुस भएको बताउँदै प्रश्न गर्ने सांसद र उत्तर दिने मन्त्रीको अधिकार संसदीय अभ्यासको स्वाभाविक प्रक्रिया भएको स्मरण गराए।
फरक प्रसङ्गमा गृहमन्त्री गुरुङले मानसिक स्वास्थ्यका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए। उनले आत्महत्या रोकथामका लागि ११६६ हेल्पलाइनमार्फत प्रयास भइरहेको जानकारी दिँदै तीनै तहका सरकार मिलेर मानसिक स्वास्थ्यसम्बन्धी योजना अघि बढाइरहेको बताए।






















