नेपाल–अष्ट्रेलिया संसदीय सहकार्य बढाउनेमा सभामुख अर्याल र राजदूत अर्न्स्टबीच छलफल
चितवन, २६ साउन । सभामुख डीपी अर्याल र अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अर्न्स्टबीच शिष्टाचार भेटवार्ता भएको छ। सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो।
भेटमा सभामुख अर्यालले सङ्घीय संसद्ले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको जानकारी दिँदै समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुवै देशका सांसदबीच नियमित आदानप्रदान र संस्थागत सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए। उनले साझा हितका क्षेत्रमा सहकार्य बढाउन र पारस्परिक समझदारी अभिवृद्धि गर्न संसदीय मैत्री समूहले महत्वपूर्ण भूमिका खेल्ने बताए।
सभामुख अर्यालले नेपालको सामाजिक–आर्थिक विकासमा अष्ट्रेलियाले लामो समयदेखि पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै अष्ट्रेलिया अवार्ड छात्रवृत्ति, क्षमता अभिवृद्धि तथा तालिममार्फत मानव संसाधन विकासमा पुर्याएको योगदानप्रति आभार व्यक्त गरे।
उनले उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीको प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। साथै उनले राजदूत अर्न्स्टमार्फत अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकप्रति हार्दिक अभिवादन तथा शुभकामना व्यक्त गरे।
भेटमा राजदूत अर्न्स्टले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय तहको सहकार्य र जनस्तरीय सम्बन्धको महत्वपूर्ण भूमिका रहेको बताए। उनले शिक्षा, मानव संसाधन विकास तथा संसदीय सहकार्यलगायतका क्षेत्रमा हुँदै आएको द्विपक्षीय सहयोगलाई आगामी दिनमा थप विस्तार गर्न आफ्नोतर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।



























