रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु, चालक घाइते
चितवन, २५ भदौ । चितवनको रत्ननगरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका वडा नं. ३ स्थित यमाहा सोरुम अगाडि आज बिहान करिब ९:४५ बजे दुर्घटना भएको हो। टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना ३ ख ५१८७ नम्बरको ट्रकले विपरीत दिशा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना ३९ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा परि स्कुटरको पछाडि सवार मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ बस्ने ३८ वर्षीय पृतम मोक्तानको मृत्यु भएको छ। शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका मोक्तानलाई उपचारका लागि बकुलहर अस्पताल टाँडी पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै, स्कुटर चालक मनहरी निवासी ४३ वर्षीय दिपेन्द्र बर्तौला घाइते भएका छन्। हात र खुट्टामा चोट लागेका उनको अवस्था मध्यम रहेको र उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालक पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ बस्ने ३६ वर्षीय रन्जित कुमार पटेललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















