सुनगाभा कलेज र डेजि स्कुलका विद्यार्थीलाई लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम
चितवन, २६ भदौ । लागू पदार्थ दुर्व्यसनको नकारात्मक असर तथा रोकथामका उपायबारे विद्यार्थीलाई सचेत गराउने उद्देश्यका साथ खैरहनीमा एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय खैरहनीको आयोजना तथा सुनगाभा कलेज, डेजी स्कुल र ‘म्याङ्गो’ जनज्योति सिनेमा हलको सह–आयोजनामा कक्षा ११ का विद्यार्थीलाई लक्षित गरी सचेतनामूलक वृत्तचित्र प्रदर्शन गरिएको हो। सिनेमा हलमा आयोजित उक्त कार्यक्रममा व्यवस्थापन संकायका २४५ विद्यार्थी सहित शिक्षक, कर्मचारी, अभिभावक तथा प्रहरी प्रतिनिधिको उपस्थिति रहेको थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख सागर पन्तले लागू पदार्थले व्यक्ति, परिवार र समाजमा पार्ने दीर्घकालीन असरबारे स्पष्ट पार्दै विद्यार्थीहरूलाई कुलतबाट टाढा रहन आग्रह गर्नुभयो। त्यसैगरी, सुनगाभा कलेजका प्रमुख हरिप्रसाद सापकोटाले विद्यार्थी जीवनमा अनुशासन, सकारात्मक सोच र असल संगतको महत्त्वबारे प्रकाश पार्नुभयो। सोही अवसरमा केही समयअघि आयोजित ‘बाढी–पहिरो आउनुको कारण र यसबाट बच्ने उपाय’ विषयक पोस्टर प्रतियोगिताका विजेताहरू क्रिस्टिना अधिकारी, मन्सी ठाकुर र सृष्टि श्रेष्ठलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।



















