नेपाली भूमि अतिक्रमण गरी सडक बनाइएको प्रति सरकारको आपत्ति
काठमाडौं, २७ वैशाख ।
शुक्रवार भारतले पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक उद्घाटन गरेको विषयमा नेपालले आधिकारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेको छ।
शनिवार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित सबै क्षेत्र नेपालको भूभाग रहेको आफूहरूले लगातार भन्दै आएको जनाएको छ।
गत वर्ष भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि गत नोभेम्बरमै कूटनीतिक नोटमार्फत् उक्त विषयबारे जानकारी गराइएको विज्ञप्तिमा भनिएको छ।
भारतको उक्त कदम दुई देशबीच प्रधानमन्त्रीस्तरमै सीमासम्बन्धी विवाद आपसी समझदारीका आधारमा सल्टाइने विषयमा भएको समझदारीको विरुद्धमा रहेको उल्लेख गरिएको छ ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रवार धार्चुला लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए।



















