दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातभित्र छानिए
काठमाडौँ, २९ वैशाख । विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल अगाडि बढेका छन् । गायक पोखरेल अमेरिकन आइडलको १८ औं सिजनको शीर्ष ७ मा पर्न सफल भएका हुन् । उनी अमेरिकाको स्टेजमा अर्थर गनको नामले चिनिदै आएका छन् ।
उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो। दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गाएका थिए।
कोरोना भाइरसको कारण अमेरिकामा पनि लकडाउन जारी रहेका कारण उनले आफु रहेकै घरबाट प्रस्तुती दिएका थिए । टप ५ बाट फाइनल गराइने अमेरिकन आइडलको नियमअनुसार दिवेश अब फाइनलमा पुग्न एक खुड्फकीलो मात्र बाँकी छ ।
दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ। अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ।



















