चितवनमा १० हजार बढी बिरामीको डेंगु परिक्षण
चितवन , ६ असोज
चितवनमा दश हजार भन्दा बढी बिरामीले डेंगुको परिक्षण गराएका छन् । साउन महिनायता आइतबारसम्म १० हजार ४२ जनाले चितवनका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा डेंगुको परिक्षण गराएका हुन् ।
परिक्षण गराएकामध्य ३ हजार १ सय ३८ जनामा डेंगु देखिएको स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरिक्षक रामकुमार के सी ले जानकारी दिए । डेंगु देखिएकामध्य २ हजार ३ सय ९० जना चितवनका रहेका छन् । त्यस्तै नवलपुरका ३ सय २२ , मकवानपुरका ६१ र अन्य जिल्लाका ३ सय ६५ जनामा डेंगु देखिएको हो ।
चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा धेरै संक्रमित देखिएका छन् । भरतपुर महानगरपालिकामा २ हजार ८४ जनामा डेंगु देखिएको के सीले बताए । त्यस्तै रत्ननगर नगरपालिकाको १ सय ३७ जना , खैरहनी नगरपालिकाको ४७ , राप्ती नगरपालिकाको २८ , कालिका नगरपालिकाको ३० , माडी नगरपालिकाको ४८ र इच्छाकामना गाँउपालिकाको १६ जनामा डेंगु देखिएको हो ।



















