जेठ ५ गतेसम्म रुपन्देहीको गैडहवा गाउँपालिका सिल
बुटवल,१ जेठ ।
बुधबार १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि रुपन्देहीको गैडहवा गाउँपालिकालाई भोलि शुक्रबार बिहानदेखि सिल गरिने भएको छ ।
गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटको अध्यक्षतामा बिहीबार सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले गाउँपालिकामा जेठ २ गते बिहान ६ बजेदेखि जेठ ५ गतेसम्म आवातजावत पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको हो ।
बैठकले औषधि पसल बाहेक सम्पूर्ण व्यापार व्यवसायहरु समेत पूर्ण रुपमा बन्द गरी गाउँपालिका भित्र बिना अनुमति आवतजावतमा रोक लगाई गाउँपालिका सिल गर्ने गर्ने निर्णय गरेको छ ।
गाउँपालिका भित्र पूर्णरुपमा आवातजावतलाई निषेध गर्नको लागि आवश्यक थप सुरक्षाकर्मीसहित जनशक्ति पठाउन जिल्ला सुरक्षा समिति तथा विपद् व्यवस्थापन समितिलाई सिफारिस गरी पठाउने बन्चुलाला अध्यक्ष केवटले बताए ।
गाउँपालिकामा आवातजावतलाई पूर्ण रुपमा बन्द गर्न सम्पूर्ण राजनीतिक दल तथा भातृ संगठन, संघ–संस्था, टोल विकास संस्था, समुदाय तथा जनप्रतिनिधिसंग सहयोग र समन्वय गरिने छ ।
त्यस्तै कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोकथाम तथा न्युनीकरणका लागि खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिहरु लगायतमा कोरोना संक्रमणको आशंका भएकोले उनीहरुको समेत पिसिआर परीक्षण गर्न जिल्ला प्रशासन कार्यलय रुपन्देहीलाई आग्रह गर्ने र स्वाव संकलनको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा अनुरोध गर्ने बैठकले निर्णय गरेको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीबी घिमिरेले जानकारी दिए ।
बुधबार सांझ सार्वजनिक रुपन्देहीका १२ जना कोरोना संक्रमितमध्ये ९ जना गैडहवा गाउँपालिकाका वडा नम्बर २ जोगडाका रहेका छन् । ९ जनामध्ये ३ महिला र ६ जना पुरुष हुन् । अर्का एकजना पुरुष पनि गैडहवा गाउँपालिका जोगडाकै हुन् । उनीहरु एक हप्ता अघि भारतको मुम्बईबाट आएका हुन् ।
रातोपाटीबाट साभार



















