काभ्रेको धुलिखेल अस्पतालबाट कोरोना पोजेटिभ देखिएका एक पुरुष फरार
काठमाडौं,६ जेठ
काभ्रेको धुलिखेल अस्पतालमा कोरोना पोजेटिभ देखिएका दाङ स्थायी ठेगाना भएका एक व्यक्ति फरार भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरूको निरीक्षणका लागि गठन गरेको कमिटीले दाङ स्थायी ठेगाना भएका एक कोरोना संक्रमित पुरुष सम्पर्क बाहिर रहेको जानकारी दिएको छ।
दाङ स्थायी ठेगाना भएपनि उनको नमूना काभ्रेमा नै संकलन गरिएको थियो। संकलित उनको स्वाबको नमूना धुलिखेल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ५ गते दिउँसो ४ बजेर १५ मिनेट जाँदा गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले दाङ स्थायी ठेगाना भएका एक पुरुषमा पनि कोरोना संक्रमित भेटिएको जानकारी दिएका थिए।
त्यतिबेला मन्त्रालयले गराएको जानकारीअनुसार उनी स्वास्थ्यकर्मीको सम्पर्कमै रहेका थिए। तर हाल उनी मन्त्रालयको टोलीको सम्पर्कमा नआएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
उनको खोजी कार्य जारी रहेको समेत मन्त्रालयले जानकारी दिएको छ।



















