सोती घटनाको छानविन गर्न पाँच सदस्यीय समिति गठन
काठमाडौँ,१३ जेठ ।
जेठ १० गते रुकुम पश्चिम चौरजहारी–८ सोतीमा भएको घटनाको छानविन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। शनिबार बेलुकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानविन गर्न टोलीको गठन भएको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिएका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा गृहमन्त्री थापाले सो स्थानमा मल्ल थरकी युवतीलाई लिन गएका युवा र गाउँलेबीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको लाश फेला परेको र अन्यको खोजिका लागि गोताखोर प्रयोग गरिने भन्दै घटनाको छानविनका लागि गृहमन्त्रालयको संयोजकत्वमा समिति गठन गरिएको बताएका हुन् ।
गृहमन्त्री थापाले उक्त घटना चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्ल नेतृत्वमा भएको बताएका छन् । घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्ल, युवतीका आमा, बुवा र युवती सहित १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।
जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए। सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक, चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको लाश फेला परेको छ । सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको हो । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी बेपत्ता छन्।



















