रौतहटमा संक्रमित राख्ने विषयमा विवाद हुँदा झडप, १२ राउन्ड हवाई फायर
रौतहट, १६ जेठ ।
भारतबाट उद्धार गरेकालाई राख्न बनाइने क्वारेन्टाइनको विषयलाई लिएर विवाद हुँदा रौतहटमा प्रहरीले हवाई फायर गरेको छ। रौतहटको ईशनाथ नगरपालिकामा कोरोनाभाइरस संक्रमितलाई आइसोलेसनमा लैजान स्थानीयले अवरोध गरेपछि प्रहरीले १२ राउण्ड गोली चलाएको हो ।
ईशनाथ नगरपालिका–७ जोकहास्थित माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनका दुई जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उपचारको लागि आइसोलेसनमा लैजान खोजिएको थियो । प्रहरी र स्वास्थ्यकर्मीले बिहीबार नै उनीहरुलाई आइसोलेसनमा लैजान खोजे पनि स्थानीयले अवरोध गरेका थिए । क्वारेन्टिनमा नै संक्रमितको उपचार हुनुपर्ने र आफूहरुले पनि सुविधा पाउनु पर्ने त्यहाँ राखिएकाको मागलाई स्थानीयले समर्थन गर्दै आएका छन् ।
शुक्रबार पनि प्रहरीले संक्रमित दुवै जनालाई गरुडास्थित नेपाल प्रहरी विद्यालयको आइसोलेसनमा लैजान खोज्दा स्थानीयसँग झडप भएको हो । स्थानीयले प्रहरीलाई ढुंगा प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन १३ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपि रविराज खड्काले जानकारी दिएका छन् ।
स्थानीयको आक्रमणबाट इलाका प्रहरी कार्यालय राजपुर फरहदवाको ना१झ ५८२ नम्बरको प्रहरी भ्यानमा क्षति पुगेको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । स्थिति नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।
बिहीबार पनि रौतहटको कटहरिया–१ भसेढवास्थित माध्यमिक विद्यालयमा क्वारेन्टिन बनाउन गएका प्रहरी र स्थानीयबीच झडप हुँदा १२ राउण्ड हवाई फायर भएको थियो ।



















